काठमाडौं । गैरआवसीय नेपाली नागरिकता प्रमाणपत्र वितरणको कार्य सुरु हुन केही समय लाग्ने भएको छ । गृह मन्त्रालयले सफ्टवेयरमा प्राविधिक सुधार गरेर मात्रै नागरिकता जारी गर्ने भनेको छ । तर गैरआवासीय नेपाली संघले भने वंशजको आधारमा नागरिकताका लागि पहल गरे पनि परिचयपत्र मात्रै जारी हुन लागेको भन्दै गुनासो गरेको छ ।

मन्त्रिपरिषद्‌ले असोज ४ गते नियमावली पारित गरेसँगै गैरआवासीय नेपाली नागरिक र बुबाको ठेगान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता लिने बाटो खुलेको हो । तर गैरआवासीय नेपालीलाई नागरिकता दिन सफ्टवेयरमा फिचर थप्ने काम भइरहेको भन्दै गृह मन्त्रालयले अझै केही समय लाग्ने जनाएको छ ।

गृहका अनुसार गैरआवासीय नेपालीले नागरिकता लिन साबिकको स्थायी ठेगाना रहेको जिल्ला प्रशासन र नेपाली दूतावास वा महावाणिज्य दूतावासमार्फत निवेदन दिन सक्नेछन् । तर नागरिकता लिन भने जिल्ला प्रशासन कार्यालयमा आफैं जानुपर्नेछ ।

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवाल भन्छन्, ‘गैरआवसीय नेपालीहरुको हकमा तत्कालचाहिँ ७७ वटै जिल्लाबाट निवेदन संकलन गर्ने र सबै प्रमाण जुटेपछि, सिस्टम अपडेट भएपछि मात्रै बाँड्ने कुरा छ ।’

सार्क बाहेकका देशमा नागरिकको हैसियतमा रहेका नेपालीले नागरिकता लिन बाबुआमा, बाजेबज्यै नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्नेछ । साबिकमा नागरिकता लिएको भए त्यो त्यागुपर्नेछ । गैरआवासीय नेपाली नागरिकता लिनेलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हुनेछ । उनीहरुले मागेजस्तो वंशजको तथा मतदाता हुन वा उम्मेदवार बन्ने अधिकार भने हुनेछैन ।

गैरआवासीय नेपाली संघ भने आफूहरुको मागबमोजिम नागरिकता वितरण हुन नलागेको भन्दै असन्तुष्ट बनेको छ । सरकारले वितरण गर्न लागेको प्रमाणपत्र केवल परिचयपत्र जस्तो मात्र भएको उसको बुझाइ छ ।

गैरआवासीय नेपाली संघको अध्यक्ष रविना थापा भन्छिन्, ‘अहिले दिने भनिएको गैरआवासीय नेपाली नागरिकता त्यो परिचयपत्र हो कि नागरिकता स्पष्ट छैन । वशंजका आधारको नागरिकता जबसम्म पाइँदैन त्यसलाई पूर्ण रुपमा नागरिकता भन्न मिल्दैन ।’

विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताको विषयमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित नियोगबाट बुझ्नसक्ने प्रावधान छ । विद्युतीय माध्यमबाट निवेदन दिन सक्ने नियमावलीमा व्यवस्था छ । तर यो तत्काल सम्भव नहुने गृह मन्त्रालयले प्रस्ट पारेको छ ।

२०७२ सालमा संविधान जारी भएपछि आठ वर्षसम्म छलफलमै रहेको ऐन कार्यान्वयनमा त आएको छ । तर नेपालको नागरिकता त्यागेर विदेशको नागरिकता लिएकाको संख्या कति छ त्यसको यकिन तथ्यांक सरकारसँग छैन । गैरआवासीय नेपाली संघले त्यो संख्या ४० लाख रहेको दाबी गरेको छ ।