काठमाडौं । दुई दिनदेखि काठमाडौंमा रहेका चिनियाँ अर्बपति एवम् अलिबाबाका मालिका ज्याक मा कालीमाटी तरकारी बजार पुगेका छन् ।

बुधबार बिहान १० : ३७ बजे अवलोकनका लागि कालीमाटी पुगेका हुन् । उनले त्यहाँ १३ मिनेट बताएका थिए ।
५ वटा कार र सुरक्षाका केही मोटरसाइकलसहित ज्याक माको टोली कालीमाटी बजारमा १० बजेर ३७ मिनेटमा छिरेको थियो ।

बजार विकास समितिको अगाडि रहेको पार्किङमा केही गाडी रोकिएका थिए भने ज्याकमा सवार कार कृषक होल्डिङ यार्डमा पुगेको थियो । बजार परिसरमा पुगेका ज्याक मा कारबाट बाहिर भने ननिस्किएको स्रोतले बतायो । ज्याक मा बजारमा किन गएका थिए भन्नेबारे भने स्पष्ट खुलेको छैन । उनले बजारमा रहेका व्यवसायीसँग कुनै कुराकानी नगरेको पनि प्रत्यक्षदर्शीले बताए ।

विश्वको ठूलो मध्येको एक ई–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक मा मंगलबार काठमाडौं आइपुगेका हुन् ।

हङकङको चार्टर्ड विमानमार्फत उनी बंगलादेशको ढाका हुँदै नेपाल आएका थिए । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए । ई-कमर्स बिजनेसमा आउनु अघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा नामक इ-कमर्स कम्पनी १९९९ मा स्थापना गरेका थिए ।

अलिबाबाको लगानीमा नेपालमा दराज नामक अनलाइन ई-कमर्स प्लेटफर्म सञ्चालनमा छ । ज्याक मा बिहीबार पाकिस्तान जाने तालिका छ ।