काठमाडौं । चिनियाँ धनाढ्य एवं अलिबाबा ग्रुपका मालिक ज्याक मा नेपाल भ्रमणमा आएका छन् ।

हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमनका अधिकारीले जानकारी दिएका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएका उनको जेटमा ६ जना चालक दलका सदस्य रहेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइए पनि काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन ।

स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केट प्लेस तथा ई-कमर्स साइट दराजमा ज्याक माको कम्पनी अलिबाबाको लगानी रहेको छ । चीन सरकारले पछिल्लो समय ज्याक मा र उनको कम्पनी माथि कडाईको नीति लिएको छ ।

केही समय सार्वजनिक जीवनबाट गुमनाम बनेका उनी पछिल्लो समय मात्र बाहिर आएका हुन् । तत्कालीन समयमा उनलाई चिनियाँ सरकारले बेपत्ता पारेको हुन सक्ने आशंका समेत गरिएको थियो । उनले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए ।

जसले गर्दा उनको कम्पनी आन्ट ग्रुपले जारी गर्न लागेको संसारकै ठूलो आईपीओसमेत रोकिएको थियो । यसैले पनि चिनियाँ सरकारले नै बेपत्ता पारेको हुन सक्ने आकलन गरिएको थियो ।

विश्वको ठूलो मध्येको एक ई-कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बरमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । फोर्ब्सका अनुसार आजको दिनमा उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ ।

यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।