काठमाडौं , ३ असार । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ । कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीका बाबजुद नेपालले पराजय व्यहोरेको हो ।

हरारे स्पोर्टस् क्लबमा आईतबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । नेपालले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४४ दशमलव १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेको जितमा कप्तान समेत रहेका ओपनर क्रेग ईव्रानले अविजित १ सय २१ रनको शतकीय ईनिङ खेले । उनले १ सय २८ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय २१ रन बनाएका हुन् । ३७ वर्षिय क्रेगले आफ्नो चौथो शतक १ सय ११ बलमा पूरा गरेका थिए ।

तेस्रो विकेटका लागि क्रगले सेन विलियम्ससँग मिलेर १ सय २५ बलमा १ सय ६४ रनको विजयी साझेदारी गरे । सेन विलियम्सले ७० बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित १ सय २ रनको शतकीय ईनिङ खेले ।

विस्ली माधिवेरीले ३८ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए । ओपनर जोयलर्ड गुम्बिले २९ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए ।

कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुकेका थिए । उनी विलिङ्टन मासाकाट्जाको बलमा बोल्ड आउट भएका थिए ।

पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलव ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध भएको थियो । नामिबियाविरुद्धको खेलमा दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।

अर्का ओपनर शेख मासाकाट्जाको नै बलमा रायन बर्लबाट क्याच आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।

गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । नेपालले अन्तिम ५ ओभरमा ३२ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।

जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट आफ्नो नाम गरे ।

जितसँगै जिम्बावे २ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ । हारसँगै नेपाल समूह ए को दोस्रो स्थानमा रहेको छ । नेपालको दोस्रो खेल २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।