काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी-२० विश्वकपको एशिया छनोटको बिहीबार तीन नयाँ खेलाडी समेट्दै नेपाली टिमको घोषणा गरेको छ ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा पुजा महतो, रुबी पोदा र खुशी डंगोल नयाँ अनुहारका रुपमा छन् ।
जुनमा हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा टोलीमा रहेका ज्योती पाण्डे, सरस्वती कुमारी र कृतिका मरासिनी टिमबाट बाहिरिएका छन् ।
आईसीसी महिला टी-२० विश्वकपको एशिया छनोट यही अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आयोजना हुँदैछ ।
जसमा नेपालसहित १२ राष्ट्रले खेल्नेछन् । नेपाल रहेको समूह ए मा बहराइन भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड छन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई टोलीले टी-२० महिला विश्वकपका लागि २०२४ मा ग्लोबल क्वालिफायर खेल्नेछन् । जहाँ १० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली २०२४ सेप्टेम्बर-अक्टोबरमा बंगलादेशमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।
नेपाली टोली
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, बिन्दु रावल,कविता कुँवर, कविता जोशी, पूजा महतो,सम्झना खड्का,ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल