काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपीले घटनामा संलग्नता स्वीकार गरेका छन् । बोल्न नसक्ने उनले कागजमा आफ्नो स्वीकारोक्ति व्यक्त गरेको प्रहरी स्रोतले बतायो ।
प्रहरीले आरोपीसँग सांकेतिक भाषामा र लेखेर संवाद गरिरहेको छ । उनले कागजमा ‘आइ किल्ड फोर पिपुल’ भनेर लेखेको स्रोतले बतायो ।
मोरङ घर भएका आरोपी हेर्दा हट्टाकट्टा छन् । उनले आफू १२ कक्षा पास भएको बताएका छन् ।
आफू दुईवटा खुकुरी बोकेर नविन राईको हत्या गर्ने उद्देश्यले गएको उनको बयान छ । प्रहरीले एउटा खुकुरी पखालेको अवस्थामा भेटाएको थियो । खुकुरीमा रगत लागेको पाइएको छ ।
आफूलाई नविन राईले हाँकेको मोटरसाइकलले ठक्कर दिएको आरोपीले बताएका छन् । तर, प्रहरी अनुसन्धानअनुसार नविनले बाइक चलाउँथेनन् । उनी घरबाटै प्राय बाहिर निस्किदैन थिए । मोटरसाइकल दिपेन्द्रले चलाउँथे ।
दीपेन्द्र समिलमा आएको देखेपछि आरोपी फाल हालेर भागेका थिए । उनले नविनलाई दिपेन्द्र भन्ठानेर हत्या गरेको हुन सक्ने पनि अनुमान छ । नविनलाई मारेपछि पोल खुल्ने डरले अरुलाई पनि मारेको हुन सक्ने आशंका गरिएको छ ।