मलेखु । धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका आठ जनामध्ये चारको सनाखत भएको छ ।

सनाखत हुनेमा म्याग्दी रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी-८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी-११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एक महिला र तीन पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टरबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताएका छन । उनी सकुशल रहेका छन् ।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा घाइते भएकामध्ये १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक यात्रु हराइरहेको आशंकामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभरटेक’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ।

Globalhuff Media
Join the everyday newsletter

Subscribe to get the latest news content by email.