काठमाडौँ । कमेडीमा आधारित टेलिभिजन रियालिटी शो ‘महा गफाडी’को औपचारिक घोषणा भएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रम गरेर शोको घोषणा गरियो।
साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने आयोजकले जानकारी दिए।
यस रियालिटी शोलाई नरेशनाथ योगीले निर्देशन गर्दैछन्। उनी फिल्म लेखक, कोरियोग्राफर र फाइट डिरेक्टरसमेत हुन्।
अर्को कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजन प्रसारणको तयारीमा छ। उनले नेपालमा कमेडी शो कम भएका कारण फरक तरिकामार्फत आफ्नो टिम आउन लागेको दाबी गरे ।
उनका अनुसार यस रियालिटी शोमा सहभागी हुने प्रतिष्पर्धीहरुको उमेरको हकमा १८ वर्ष नाघेको हुनुपर्नेछ।
ढाकाटोपी फिल्मस्को ब्यानरमा निर्माण हुने रियालिटी शोमा नेपाली भाषी रहेका संसारका जुनसुकै नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्।
अरू रियालिटी शोमा नेपाली भाषा मात्र बोल्न पाइथ्यो भने यसमा आफ्नो मातृभाषाबाट समेत अडिसन दिन सकिने निर्देशक योगीले बताए।
आयोजकका अनुसार यो रियालिटी शोको अडिसन डिजिटल प्लेटफर्ममा मात्रै गरिनेछ। निर्देशक योगीका अनुसार डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ मात्र सहभागी हुनेछन्। १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अस्ट्रेलियामा गरिने उनले बताए।
यस रियालिटी शोका विजेता सहितको टोलीले पहिलो विश्व भ्रमणको सुरुवात क्यानडाबाट गर्नेछन्। त्यसपछि अमेरिका लैजाने आयोजकको दाबी छ।
‘महा गफाडी’को निर्णायकमा हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ (हैट)रहने छन्।