काठमाडौं । देशको राजधानी काठमाडौं छिर्ने मुख्य नाकामा निर्माणाधीन नागढुंगा सुरुङमार्गको मुख्य टनेल खन्न अब चार सय मिटर बाँकी रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीको टोलीले आज अनुगमन गर्ने क्रममा निर्माण कम्पनीले मुख्य सुरुङ खन्न चार सय मिटर बाँकी रहेको जानकारी गराएको हो ।
सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे बुझ्न निर्माणस्थल पुगेको मन्त्री ज्वालासहितको टोलीलाई ठेकेदार कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको जानकारी गराए ।
अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी रहेको उनको भनाइ थियो । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको इन्जिनियर दुवाडीले जनाए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालासहित भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गंगालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले जनाए ।
सुरुङमार्गको विसं २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । सिस्ने खोलाबाट सुरु भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।
कोरोना महामारीलगायत विविध कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ ।