काठमाडौं । आगामी सातादेखि दसैं सुरु हुँदै छ । त्यसलगतै तिहार र छठ आउँछ । यो बेला चोरी, लुटपाटलगायत घटना बढ्ने विगतको तथ्यांकले देखाउँछ । ठूला चाडपर्वमा देशैभर हुन सक्ने सुरक्षा जोखिमलाई लिएर प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । पर्सा, बाँके, सर्लाहीलगायत जिल्लामा पछिल्लो समय भएका केही घटनासँग जोडिएका विवाद र इजरायलमा १० नेपाली मारिएको घटनाले निम्त्याउन सक्ने परिस्थितिलाई समेत ध्यानमा राखेर प्रहरीको सुरक्षा योजना तयार पारेको हो ।
यसपटक नेपाल प्रहरीले चाडबाड सुरक्षाका लागि देशैभर ५३ हजार जनशक्ति परिचालन गर्ने भएको छ । विशेषगरी चाडबाडमा यात्रुको आवागमन धेरै हुने र त्यही समयमा हुन सक्ने आपराधिक घटनालाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याइएको हो ।
प्रहरीले यो वर्षलाई विगतभन्दा केही चुनौतीपूर्ण मानेको छ । पर्सा, बाँके, सर्लाहीलगायत जिल्लामा साम्प्रदायिकता भड्काउने प्रयास भएको भन्दै प्रहरीले थप सर्तकता अपनाएको छ । काठमाडौं प्रहरीले धार्मिकस्थलमा समेत निगरानी बढाएको छ । इजरालयमा १० नेपाली मारिएको विषयलाई लिएर हुन सक्ने घुसपैठले निम्तिन सक्ने परिस्थितिलाई ध्यानमा राखेर रणनीति बनाएको हो ।
त्यसबाहेक काठमाडौंबाट बाहिरिने यात्रुलाई लक्षित गरेर हुने चोरी, डकैती, आर्थिक कारोबार हुने स्थानमा हुन सक्ने लुटपाट जस्ता घटनालाई प्रहरीले चुनौतिका रुपमा हेरेको छ । घटना हुनसक्ने सम्भावित स्थानको पहिचान गरेर प्रहरीले क्यामेरा र ड्रोनबाटसमेत निगरानी बढाउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीको भनाइ छ ।
त्यस्तै ललितपुर प्रहरीले पनि सहरी र ग्रामीण क्षेत्रलाई लक्षित गरेर फरक-फरक विष्लेषणसहितको सुरक्षा योजना बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाहको भनाइ छ । यस वर्ष साम्प्रदायिक सद्भाव भड्काउन खोज्ने समूहलाई लक्षित गरी योजना बनाइएको हो । ललितपुरमा विगतका वर्षहरुमा चाडपर्वका बेला चोरी, लागुऔषध कारोबार र जुवा मुख्य चुनैती बनेका थिए । जुवा खेल्ने र खेलाउने दुवैको दसैं हिरासतमा हुने चेतावनी प्रहरीले दिएको छ ।
टिकटमा हुने कालोबजारी र लुटपाट नियन्त्रण गर्न सतर्कता अपनाइएको छ । दसैंका बेला घर नै खाली गरेर धेरै व्यक्ति काठमाडौं उपत्यकाबाट बाहिरिने भएकाले चोरी, डकैतीजस्ता अपराधलाई लक्षित गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोसाकका प्रहरी परिचालन हुने उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र राठौरले जनाए । यो बेला कारागारबाट सजाय भुक्तान गरेर निस्किएकाहरुको समेत सूची तयार पारिएको छ । पछिल्लो तीन वर्षमा उपत्यकाभित्र चाडबाडको समयमा २०० भन्दा बढी घटना भएको प्रहरी तथ्यांक छ ।
शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीकै हो । त्यसैले खुला सीमाका कारण कारण होस् वा अन्य अपराधिक समूहले निम्त्याउन सक्ने जोखिम, सबैखाले घटनाको मध्यनजर गर्दै सुरक्षित चाडबाड मनाउने वातावरण बनाउन योजना बनाउनुभन्दा कार्यान्वयन महत्त्वपूर्ण हुनेछ ।