काठमाडौं । नेकपा माओवादी एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको अवस्थामा माओवादी पार्टी र जनतासँगको सम्बन्ध कमजोर स्थितिमा रहेको स्वीकार गरेका छन् ।
पार्टी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तो बनाउन आजदेखि सुरु भएको विशेष रुपान्तरण अभियान सार्थक हुने विश्वास व्यक्त गर्दै उनले विगतमा भएका गल्ती, कमजोरीको आत्मालोचना गर्न सक्नु पर्ने जनाएका छन् ।
जनताले विश्वास गरेकै कारण हिजो माओवादी आन्दोलन सफल भएको स्मरण गर्दै उनले भने, ‘आज जनतासँगको सम्बन्ध कमजोर भएको स्थिति छ । तर बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनकै पक्षमा छन् । जनता समृद्धि चाहन्छन् र जनता सुशासन चाहन्छन् । अनि योसँगै हामीले जनतालाई विश्वास दिलाउनु पर्दछ, नेपाली समाजको परिवर्तन र रुपान्तरण माओवादीले नै गर्न सक्दछ । माओवादीकै नेतृत्वमा समृद्ध नेपाल सम्भव छ ।’
विगतमा माओवादीबाट भएका गल्ती तथा कमजारीलाई आत्मालोचना गर्दै जनताको घर दैलोमा फेरि जानु पर्ने आवश्यकता रहेको अध्यक्ष दाहालको भनाइ थियो । ‘जनतासँग हामीले भन्न सक्न पर्दछ । हाम्रा गल्ती, कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ । हामी सुध्रिन चाहन्छौँ,’ उनले भने, ‘त्यसका लागि अभियानसहित तपाईंहरुको घर दैलोमा छौँ ।’
अब समृद्ध नेपालको सपना माओवादी नेतृत्वबाटै पूरा हुने दाबी गर्दै उनले यो अवसरलाई गुम्न नदिन पार्टी पुनर्गठन, सबलीकरण र रचनात्मक रुपान्तरणको आवश्यकता रहेको औँल्याए । ‘हामीले आफ्नै पुनर्गठन, आफ्नै सबलीकरण र रचनात्मक रुपान्तरण गर्न सक्नुपर्दछ ।’ उनले भने, ‘अनि मात्रै यो पार्टीले नयाँ वैचारिक राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरुको एकता र सुदृढीकरणको नेतृत्व गर्न सक्दछ । युगको नेतृत्व गर्न सक्दछ । यो अवसरलाई हामी कसैले पनि गुम्न दिनु हुँदैन ।’
पार्टी नेतृत्वको सरकारले राम्रा कामहरु गरे पनि सरकारविरुद्ध घेराबन्दी गर्ने, भ्रम छर्नेलगायत गतिविधि भइरहेको उनको भनाइ थियो । ‘परिवर्तनलाई नरुचाउन, इतिहासलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारका लोकप्रियताबाट अत्तालिएका कतिपय तत्वहरुले सरकारविरुद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्यो रुपमा सरकारको कामको प्रशंसा वा चर्चाबाट जनताको ध्यान विमुख गर्ने कसरतहरु भइरहेका छन् ।’ उनले भने, ‘तर यी घेराबन्दीले झनै जिम्मेवार ढंगले सबल, सक्षम भएर आन्दोलनमा अविचलित रुपमा अघि बढ्नै पर्ने कार्यभारसमेत हाम्रोसामू थपिदिएको अनुभुत हुने गरेको छ ।’