रामपुर (पाल्पा) । पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानीमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन् । नवलपरासी देवचुली नपा–१६ रजहर बस्ने कार चालक ३६ वर्षका ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली–१६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगानाका वर्ष ३५ की सबिता धिताल, सोही ठेगानाका ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । अर्का एक जना लमजुङ बेसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छन् ।

आइतबार करिब ४ बजे तानसेन–१३ स्थित बैकुण्ठे भिरबाट कार १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो ।