काठमाडौं, ३ असार । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा शनिबार भएको वर्षापछि गएको पहिरामा परी ११ जना बेपत्ता हुनाका साथै सडक पूर्वाधार सहितमा ठूलो क्षति पुगेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरामा परी यादव बुढाक्षेत्रीको घर पूर्ण क्षति हुनाका साथै तीनजना व्यक्तिसमेत बेपत्ता भएका छन् ।
सोही गाउँपालिका-६ स्थित राजकुमार गौतमको घर र स्वास्थ्य चौकीको भवनमा क्षति पुगेको छ । आङखोपमा-३ मा प्रेम सेदिङ, महेश्वर सेदिङ र गणेश सेदिङका तीनवटा घर बगाएको छ ।
सिरिजङ्घा-४ तेल्लोक स्वास्थ्य चौकीको पोष्टमार्टम घर पुरिएको छ भने स्थानीय नरेन भट्टराईको घर पूर्ण रुपमा क्षति भएको छ ।
जिल्लाका सहायक सडक साँघु-ओदक, तेल्लोक, निम्बुखोला, सिरिजङा, सिमलबोटे र पाथीभरा याङ्वारक गाउँपालिका, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जोड्ने तथा मेची राजमार्गअन्तर्गत मेवाखामा पहिरो गई सडक अवरुद्ध रहेको सेनाले जनाएको छ ।
सङ्खुवासभाको हेवा खोलामा आएको बाढीले पाँचखपन नगरपालिका-५ खमारेस्थित रौता-चैनपुर पक्की पुल बगाउनाका साथै चैनपुर नगरपालिका-४ दोभानेमा निर्माणाधीन सुपर हेवाखोला हाइड्रोपावरको काम गर्ने मजदुर बस्न बनाएको क्याम्प तथा हाइड्रोपावरमा समेत क्षति पुगेको छ ।
त्यस क्षेत्रमा खोजी तथा उद्धारका लागि सेनाको नयाँ भैरवीदल गुल्मको सभाखोला जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ सुरक्षा बेस सिम्लेबाट अधिकृतको कमान्डमा १५ जनाको नफ्रिको फौज परिचालित भएको छ ।
चैनपुर नगरपालिकाको पिलुवा खोलामा आएको बाढीले आसपासका घर तथा नुनढाकीस्थित पुल बगाएको छ । सभापोखरी गापा-३ सुनाम्लामा पहिराले गोठ बगाउँदा दुईजना बेपत्ता भएको सेनाले जनाएको छ ।
वर्षाका कारण विभिन्न स्थानमा पहिरो गई सङ्खुवासभा-फाक्सिन्दा सडक खण्ड अवरुद्ध भएकाले घटनाका सूचना सङ्कलन गर्न सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र खडा गरी समन्वय भइरहेको जानकारी दिइएको छ ।
त्यसैगरी, पाँचथरको फिदिम नगरपालिका-३ स्थित हेवा खोलामा बाढीले बगाएपछि त्यस क्षेत्रमा खोजतलास र उद्धारका लागि रणशेर गणबाट अधिकृतको नेतृत्वमा ३५ जनाको सैनिक टोली खटिएको जानकारी दिइएको छ । बाढीमा परी ६ जना स्थानीय बेपत्ता भएको सेनाले जनाएको छ । सोही नगरपालिका-४ मा दुईवटा घर र हेवा खोला जलविद्युत् आयोजनाको इन्टेक पूर्ण रुपले क्षति भएको छ ।