पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकिएको छ ।

उडान भर्न तयारी अवस्थामा रहेको जहाजमा मुसो देखिएपछि यति एयरलाइन्सको जहाज पोखरा विमानस्थलमै रोकिएको छ ।

सोमबार बिहान ११:५० बजे बोर्डिङपछि एयरलाइन्सको उडान नम्बर ६७८ भएको जहाज उडान नभरी रोकिएको हो ।

जहाजभित्र मुसो देखिएपश्चात् तत्काल उडान रोकेर मुसो खोज्ने काम थालिएको विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीले जानकारी दिइन् ।

जहाज रोकिएपछि थप अनुसन्धान र प्राविधिक परीक्षणका लागि काठमाडौंबाट इन्जिनियर बोलाइएको एयरलाइन्सको पोखरास्थित कार्यालयका एक कर्मचारीले जानकारी दिए । एयरलाइन्सका अन्य जहाजबाट भने उडान नियमित भइरहेको ती कर्मचारीको भनाइ छ ।