काठमाडौं । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार अपराह्न इटाली प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरे ।
यस्तै नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, अन्य नेता तथा कार्यकर्तालगायतले उनलाई भ्रमण सफलताको कामना गर्दै बिदाइ गरे । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत प्रदान गरेको थियो ।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन्।
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ ।
प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटनसत्रमा सहभागी हुनेछन् । यस्तै अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनु हुनेछन् । यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुने छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ । यस्तै रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।
खड्का कार्यवाहक प्रधानमन्त्री
प्रधानमन्त्री दाहाल विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन् ।
शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेका राष्ट्रपति कार्यालयले जनाएको छ ।