काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रधानमन्त्री दाहाल आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे ।

प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल फर्किएको हो । उनलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।

द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् ।