काठमाडौं, ५ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

मंगलबार बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ : ३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

प्रनाउ तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलाबाट थप उपचारका लागि अपराह्न ४ : १६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मन्त्री सिंहसँगै जिप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको इलाका इन्चार्ज तिवारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा घाइते भएका मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।