काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा सुरु हुने स्‍थान नजिकै पहिरोमा परी १६ जना नेपाली बेपत्ता भएका छन् ।

साउन १८ गते राति गएको पहिरोमा परी उनीहरु बेपत्ता भएको र खाजी कार्य जारी रहेको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको सोही स्थान नजिकै रहेका नेपाली नागरिकले अनुमान गरेका छन् ।

भारतीय सञ्चारमाध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएता पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ । शुक्रबार बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेको बुझिन आएको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई जना नेपाली नागरिकमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन । बेपत्ता नेपाली नागरिकको खोजी, विपद्मा फसेकाको उद्धार र राहत तथा मृतकको शव कानुनी प्रक्रिया पूरा गरी यथाशक्य छिटो परिवारलाई हस्तान्तरण गर्न त्यहाँको विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारी समक्ष अनुरोध गरिएको छ । रुद्रप्रयागका जिल्लाधिकारी त्यहाँस्थित आपदा कन्ट्रोल रुम र उत्तराखण्डस्थित विपद् व्यवस्थापन सचिवालयसँग नेपाली राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ ।

यस सम्बन्धमा थप कुरा बुझ्नुपर्ने भएमा आपदा कन्ट्रोल रुम, रुद्रप्रयाग (918958757335) र नेपाली राजदूतवास, नयाँ दिल्ली +91 92051950350 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।