काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए सँग पराजित हुदै प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजै भएको अर्को खेलमा ओमानलाई पराजित गर्दै पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
भारत ए का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय ईनिङ खेले । साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले ।
धुव्र जुरेले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ६५ रन बनाए । पौडेलले ७ चौका प्रहार गरेका थिए । गुलसन झाले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।
नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे ।
नेपालको शीर्षक्रम ब्याटिङ पुन तीव्र गतिका बलर सामु निरिह बन्यो । तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू आउट गरेका थिए । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए ।
आसिफ ७ र देव खनाल १५ रनमा आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे । भारत ए का लागि निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हंगागेकारले ३ तथा हर्षित रानाले २ विकेट लिए ।
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार यूएई ‘ए’ सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।
सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।