काठमाडौं । मनाङ एयरको हेलिकोप्टर खुम्बु क्षेत्रमा दुर्घटना भएको छ ।

लुक्ला विमानस्थलबाट उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर खुम्बुपासाङल्हमु गाउँपालिका-४ लबुचेमा दुर्घटना भएको हो । खाद्यान्नको कार्गो बोकेर आज बिहान ७:११ मिनेटमा माथिल्लो क्षेत्र उडेको हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तै आगो लागेको हेलिकोप्टर पूर्ण रुपले क्षतिग्रस्त भएको छ ।

हेलिकोप्टरमा पाइलटमात्रै थिए । पाइटल प्रकाश सेढाइ सुरक्षित रहेको मनाङ एयरका निर्देशक राजु न्यौपाने जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकोप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।