काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृतक सबैको शव भेटिएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि मंगलबार बिहान १० : ०५ मा उडेको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको हो । दुर्घटनामा हेलिकोप्टरका क्याप्टेन चेत गुरुङ र पाँच मेक्सिकोका नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुने मेक्सिकन नागरिकहरु सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् । मृतकहरु सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

स्थानीयबाट हेलिकोप्टर दुर्घटनाको खबर आउनासाथ सोलुदूधकुण्ड नपा-२ बेनीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो । बिहान १० : ०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराबाट सम्पर्कविच्छेद भएको थियो । हेलिकोप्टर सम्पर्कविच्छेद भएको स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

मृतकको शव काठमाडौं लैजान हेलिकोप्टर पठाइए पनि प्रतिकुल मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न सकेको छैन । अल्टिच्युट एयरको २ हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसम खुल्नासाथ घटनास्थल पुग्ने प्रजिअ भट्टराईले बताए । ‘म पनि हेलिकोप्टरमा उद्धारका लागि खटिएको छु, अहिले मौसम खराब भएर हामी सवार हेलिकोप्टर भकान्जेमा अवतरण गराइएको छ ।’ प्रजिअ भट्टराईले भने ।

भकान्जेको काँडे नजिकै ठूलो विस्फोटको आवाज आएपछि स्थानीय कान्छा शेर्पाको टोलीले उक्त स्थानमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेको थियो ।