काठमाडौं । अभिनेता भुवन केसीले आफूविरुद्ध अदालतमा दायर गरेको गाली बेइज्जतीको मुद्दा जितेपछि अभिनेत्री साम्राज्ञी शाहले भावुक बन्दै खुशी व्यक्त गरेकी छन् । उनले अब शान्तिको सास फेर्न सक्ने प्रतिक्रिया दिएकी छन् ।
काठमाडौं जिल्ला अदालतले बुधबार साम्राज्ञीलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरेको छ ।
सत्यको जित भएको र पहिलेजस्तै अब आफू सुनिश्चित ढंगले काममा अघि बढ्ने साम्राज्ञीले बताएकी छन् । उनले आफूलाई कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायीलाई समेत धन्यवाद दिएकी छन् । ‘हामीले अन्ततः यो लडाइँ जितेका छौं । अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु,’ उनले भनेकी छन् ।
आफूविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्तिको दाबी गर्ने व्यक्तिले शक्ति र पहुँचको दुरुपयोग गर्दै बुलिङ गरेको साम्राज्ञीको आरोप छ । उनले यसो भनिरहँदा भुवनको नाम चाहिं लिइनन् । उनले नेपाली फिल्म उद्योगमा उदाउँदै गरेका कलाकार र महिलालाई आफ्नो आवाज दबाउन नदिन आग्रहसमेत गरेकी छन् ।
टिकटकमा जियाको गुनासो
भुवन केसीले साम्राज्ञीविरुद्धको मुद्दा हारेपछि उनकी प्रेमिका जिया केसीले दु:ख व्यक्त गरेकी छन् । बुधबार राति टिकटक लाइभमा उनले भुवनप्रति लक्षित गर्दै उनले ४० वर्षदेखि फिल्म इन्डष्ट्रीमा काम गरेको व्यक्तिविरुद्ध यति धेरै गालीगलौज भएको देख्दा दुःख लागेको बताएकी थिइन् ।
मुद्दा हारेपछि अहिले सामाजिक सञ्जालमा भुवनको आलोचना भइरहेको छ । जियाले भनिन्, ‘ भुवन केसीजीले केही पनि भन्नुभएको छैन । केही पनि गर्नुभएको छैन । केही पनि नगर्दा यति धेरै गालीगलौज खानु परेको छ । आज उहाँले गाली खानुको कारण म नै हुँ । किनकि ड्रिम्स फिल्मकी नायिकालाई मेरै कारणले उहाँहरुले फिल्ममा लिनुभएको हो ।’
उनले अगाडि भनिन्, ‘उहाँ (साम्राज्ञी)ले बोल्दा भुवन केसीलाई केही पनि भनेको छैन भन्नुहुन्छ । तर मेरो पहिलो फिल्मको निर्देशक भन्नुहुन्छ । यी सबै कुरा सहन नसकेर भुवन केसीले अदालतमा मुद्दा हाल्नुभएको थियो । आज मेरै कारणले भुवन केसीले गाली खाइरहनुभएको छ । यसले मलाई एकदमै दुःखी बनाएको छ ।’