विराटनगर । प्रहरीकै हतियार लुटपाट गर्ने ६ जना मोरङमा पक्राउ परेका छन् । मोरङ र सुनसरीको विभिन्न ठाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोहले २२ भदौमा प्रहरीकै हतियार लुटेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी-१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका-४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा-५ कै २१ वर्षीय मोहम्मद नजरूल मिया, २५ वर्षीय सिजाम आलम र भारत घर भई सुनसरी दुहबी नगरपालिका- ६ बस्ने ४० वर्षीय महम्मद आलम छन् ।
उनीहरुले मोरङ र सुनसरीमा रातको समयमा यात्रा गर्नेहरुलाई हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीमा उजुरी परेको थियो । यो समूहले लुटपाट गरेको भन्दै ५ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो । तर २२ भदौमा बुढीगंगा-४ पेठियामा यही समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर लगेपछि चलाइएको कारबाहीमा ६ जना पक्राउ परेका हुन् ।
ड्युटीमा रहेका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई त्यस दिन चार जनाको समूहले आक्रमण गरी हतियार लुटेर लगेको थियो ।
अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीका अनुसार लुटपाट गर्ने गिरोहको नाइके रिजवान हुन् । उनी २०६४ सालदेखि २०७९ सालसम्म १० वटा अपराधिक घटनामा संलग्न भएको प्रहरीको दाबी छ । उनी विरुद्ध मोरङ र सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
रिजवानविरुद्ध डाका ज्यान, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा थिए । हातहतियार मुद्धामा केही समय उनी पुर्पक्षको लागि कारागार समेत बसेका थिए ।
पछिल्लो समय भने उनी नयाँ समूह बनाएर रातको समयमा मोरङ र सुनसरीको विभिन्न स्थानमा लुटपाटमा संलग्न थिए । प्रहरीका अनुसार यो समूह राति ११ बजेदेखि विहान ३ बजेसम्म लुटपाट र चोरीमा सक्रिय भएको देखिन्छ ।
भदौ २ गतेदेखि २२ गतेसम्म यो समूहले मोरङको विराटनगर, झोराहाट, बेलेपुर, ग्रामथान गिधनिया, तेतरीया, बेलबारीलगायतका स्थानमा १५ वटा लुटपाटका घटना गराएको थियो । त्यस्तै सुनसरीको दुहबी, बर्जु, गढीलगायतका स्थानमा लुटपाट गरेको थियो ।