काठमाडौं । रक गायक तथा अभिनेता रबिन तामाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरी अन्तिम बिदाइ गरिएको छ।

आइतबार बिहान भगवतीबहालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रांगणमा तामाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीसहित उच्चपदस्थ अधिकारीका साथै कलाकार, संगीतकार र उनका प्रशंसकहरू सहभागी थिए । रकस्टारका रूपमा परिचित तामाङको मंगलबार निधन भएको थियो ।

रबिनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पनि श्रद्धाञ्जली अर्पण गरिन् ।

दर्जनौँ गीत गाएका रबिन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रबिन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट पनि हुन् । उनले ‘छड्के’ चलचित्रमासमेत अभिनय गरेका थिए ।

सन् २००६ मा उनकै नेतृत्वमा रबिन एन्ड द न्यू रेभोलुसन नामक ब्यान्ड खुलेको हो । रबिनको ‘मुगलान’ नामक एल्बम निकै नै मन पराइएको थियो । उक्त एल्बममा प्रवासी नेपालीको दु:खसुख समेटिएका गीत समावेश छन् । बेलायती सैनिकका छोरा रबिन सिंगापुरमा सन् १९६३ मा जन्मिएका थिए ।

रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गरिएको छ ।

Globalhuff Media
Join the everyday newsletter

Subscribe to get the latest news content by email.