काठमाडौं । राजनीतिक सक्रियतापछि अभिनेत्री रेखा थापा फेरि फिल्म निमार्णमा फर्किएकी छन् ।

उनले नयाँ फिल्म ‘उपहार’ बनाउने तय भएको हो । मंगलबार चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा फिल्म दर्ता गर्दै रेखा फिल्म्सले फिल्मबारे औपचारिक जानकारी गराएको हो । यो लभस्टोरी र सोसल ड्रामालाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । उनले निर्देशन गरेको फिल्म ‘झिँगेदाउ’ गत वर्षको सुपरहिट भएको थियो ।

गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ-३ मा राप्रपाबाट उनी उम्मेदवार बनेकी थिइन् । उक्त निर्वाचनमा उनले सफलता हात नपारे पनि चर्चा भने राम्रै बटुलेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी हुँदा रेखा तेस्रो भएकी थिइन् । रेखाले १० हजार ९९८ मत पाएकी थिइन् ।

फेरि फिल्म निर्माणमा फर्किएकी उनले पहिलोपटक यस फिल्ममा नायिका पूजा शर्मासँग काम गर्ने भएकी छन् । फिल्ममा रेखा र पूजासँगै अर्की एकजना अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । केही दिनमा अर्की अभिनेत्रीको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

‘उपहार’ नाममा दोस्रो पटक फिल्म बन्न लागेको हो । यसअघि यो नाममा स्व. निर्देशक शिव रेग्मीले फिल्म बनाएका थिए । फिल्मको छायांकन आगामी भदौदेखि हुने छ । फिल्म ‘मालिका’पछि उनी निर्माण र अभिनयबाट टाढा थिइन् ।

निर्देशक देउजाले फिल्म सामाजिक विषयवस्तुमा बन्न लागेको जानकारी दिए । फिल्ममा तीनजना अभिनेत्री एक्सन अवतारमा पनि प्रस्तुत हुनेछन् । अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको कथा सुलक्क्षण भारतीको हो । काठमाडौं आसपासमा छायांकन हुने फिल्मको सोमबार पहिलो गीत रेकर्डिङ गरिएको थियो । गीतमा एलिना चौहान र बाबुल गिरीले स्वर दिएका छन् ।

रेखाले यसअघि ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘देवर बाबु’, ‘हिफाजत’, ‘खुसी’ लगायतको फिल्ममा काम गरेकी थिइन् । उनीहरुबीच एक दशकपछि पुनः सहकार्य भएको हो । ‘उपहार’पछि देउजा ‘झिँगेदाउ २’ निर्माणको तयारीमा छ । देउजाको पाइपलाइनमा छविराज ओझासँगको फिल्म ‘जेलब्रेकर’ पनि छ । ‘झिँगेदाउ’को व्यावसायिक सफलतापछि उनीप्रति दर्शकको अपेक्षा बढेको छ ।

डेढ करोड रुपैयाँ बजेट बताइएको यो फिल्म बोर्डमा १२४४ नम्बरमा दर्ता भएको छ । निर्माताको नाम पनि रेखा थापा र ज्ञानेन्द्र देउजा राखिएको छ ।