काठमाडौं । ललिता निवासको जग्गा तारबार गर्ने भन्दै काठमाडौं महानगरको नगर प्रहरी बालुवाटार पुगेको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको हो ।
ललिता निवासको जग्गामा महानगरले तारबार गर्ने भएपछि जग्गा यकिन गर्न नगर प्रहरी पुगेको जनाइएको छ । अहिले जग्जा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ।
महानगर प्रहरीले ललितानिवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेकाअनुसार ललिता निवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।
ललितानिवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् । ती सबै टहरा हटाउन भनिएको र त्यसपछि तारबार गरिने वाग्लेले बताए ।
ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।
त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।
(सीआईबी) ले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरु चारै जनालाई असार १३ गते जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको छ ।
बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेका चारै जनालाई सीआईबीले असार १२ गते पक्राउ गरेको हो ।
डिल्लीबजार मालपोत कार्यालयका प्रमुख (सहसचिव) भुपेन्द्रमणि केसी, कलाधर देउजा र सुरेन्द्रमान कपालीलाई पनि सोही दिन सीआईबीले पक्राउ गरे पनि सर्वोच्च अदालतको २०७९ साउनकै अन्तरिम आदेशका कारण ती तीनजना भने रिहा भएका थिए ।