काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत तथा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाइ सके पनि आदेशका लागि सबै मिसिल अध्ययन गर्नुपर्ने भएकाले हेर्दाहेर्दैमा राखिएको छ ।

सुधीरकुमार शाह, टीकाराम घिमिरे, धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङ र कृष्णबहादुर राउतले आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । साउन १ गतेदेखि नियमित सुनुवाइ भइरहेको बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश खारेजीको रिटमाथि दुवै पक्षको बहस सकिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि किर्ते र संगठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।