काठमाडौं । ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

काठमाडौंबाट विराटनगर जान लागेका उनलाई आइतबार अपराह्न त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो । २०६६/०६७ ताका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए ।

त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रुपमा सदर गरेर मन्त्रिपरिषद्मा पुर्‍याइएको थियो । त्यस बेला माधवकुमार प्रधानमन्त्री थिए । उपप्रधान तथा भौतिक तथा योजनामन्त्री विजय गच्छदार, सचिव दीप बस्न्यात तथा भूमि सुधार सचिव छविराज पन्त थिए ।

सट्टाभर्नामा नेपाल सरकारको नाममा रहेको करिब २५ रोपनी जग्गा हिनामिना भएको थियो । सोही प्रकरणमा मन्त्रालयबाट टिप्पणी उठाएका त्यस बेलाका शाखा अधिकृत राउत पक्राउ परेका हुन् । यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललितानिवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको थियो ।

Globalhuff Media
Join the everyday newsletter

Subscribe to get the latest news content by email.