दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब दुई हप्तापछि बुधबारका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक विपक्षी दलको विरोधका कारण स्थगित भएको छ ।

आज निर्धारित समयभन्दा ढिलो सुरु भएको बैठकको प्रारम्भमै नेकपा (एमाले)ले बजेटउपर विरोध जनाएपछि छलफलनै नगरी बैठक १७ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि असार १० गते छलफलका लागि आह्वान गरिएको बैठक बजेटउपर सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी एमालेले संशोधन नगरी पास हुन नदिने बताएको छ । गठबन्धन सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आजको बैठकमा बोल्नुहुँदै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता लिला गिरीले बजेट गतिहीन, सङ्घीयताको खिलापमा रहेको टिप्पणी गरे । उनले सरकारले प्रस्तुत गरेको बजेटले समृद्धिको लक्ष्यलाई आत्मसात् नगरिकन आएको भन्दै यहीँ अवस्थामा बजेटलाई स्वीकार गर्न नसिकिने बताए ।

उनले जनमानसमा सिङ्गो सङ्घीयताप्रति नै नकारात्मक धारणा उठिरहेका बेलामा झन् नकारात्मकता थप्ने गरी बजेट आएको बजेट नागरिकको चाहनाविपरीत आएको छ र समृद्धिको लक्ष्यलाई यसले भुलेको बताए। नेता गिरीले सङ्घीयताको मर्मविपरीत प्रदेश निर्देशनालय खारेज गरिनु गलत भएको बताए ।

उनले बजेट निर्माण, योजना छनोटका क्रममा र जनताका सरोकारका विषयमा कुनै छलफल नगरिएको सरकारले बजेटमार्फत गन्तव्यहीनता प्रस्तुत गरेको आरोप लगाए । ‘कृषि, पर्यटन, उद्योग र रोजगारी विकासमा जसरी ध्यान दिनुपर्ने थियो त्यो केही नसमेटिएको अचम्मको दस्तावेज पो आयो,’ उनले भने, ‘सरकारले यो प्रदेशलाई कता लैजान खोजेको हो ?’

प्रदेश सरकारले असार १ गते रु ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो । एमालेले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटप्रति प्रदेशसभाको आजको बैठकमा कडारुपमा विरोध जनाएका कारण सभामुख तुलाराम घर्तीले पहिलो बैठक केही समयका लागि स्थगित गरेका थिए ।

आजको पहिलो बैठकपश्चात् पनि दलहरुबीच सहमति जुट्न नसकेकाले बैठक सूचना जारी गरेर स्थगित भएको छ । प्रदेशसभाको आगामी बैठक असार १७ गते हुने सूचनामा जनाइएको छ ।