काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको हो । नेपालले ६ विकेट गुमाउँदै १७८ रनको योगफल बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।
यसअघि नेपालले पाचौं विकेटका रुपमा आसिफ शेखलाई गुमाएको थियो । नेपालले २९.५ ओभरमा शेखलाई गुमाएको हो । अर्धशतक पूरा गरेका उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाए ।
आसिफले गत फागुनमा क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीविरुद्ध सानदार इनिङ्स खेल्दै शतक पूरा गरेका गरेका थिए । आसिफले १ सय १ बलमा शतक पूरा गरेका हुन् ।
नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले २५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए ।
नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।