काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै मतदान गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

आयोगको सोमबारको बैठकले साविकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लाई गृह मन्त्रालयमार्फत संसद्‌मा पेस गर्ने निर्णय गरेको छ ।

उक्त विधेयकमा आयोगले विदेशमा रहेका नेपालीले कूटनीतिक नियोगको सहयोगमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने निर्णय हो । आयोगले मतपत्रमा नो भोटको व्यवस्था गर्ने र स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्नेसमेत निर्णय गरेको छ ।

साथै आयोगले चुनाव हुने दिन कानुनमै तोक्नुपर्ने विधेयकमा उल्लेख गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाकाअनुसार निर्वाचन हुने दिन र निर्वाचन प्रचारप्रसारको अवधि विधेयकमै किटान गर्नुपर्ने आयोगको निर्णय छ ।

यस्तै आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति पुन: समानुपातिक प्रणालीबाटै उम्मेदवार हुन नसक्ने कानुनी प्रबन्धको प्रस्ताव गरेको छ ।