काठमाडौं । भाषा तथा साहित्यको राष्ट्रिय विधातर्फको राष्ट्रिय पुरस्कार साहित्यकार नरेन्द्रराज पौडेललाई प्रदान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संस्कृति विधातर्फको राष्ट्रिय पुरस्कार डिल्लीप्रसाद पोखरेललाई प्रदान गरियो ।

यसैगरी ललितकलातर्फको राष्ट्रिय पुरस्कार कालाकार रागिनी उपाध्याय र सङ्गीत तथा नाट्य विधातर्फको राष्ट्रिय पुरस्कार शान्तिराम राईलाई प्रदान गरिएको छ ।

कार्यक्रममा महाकवि देवकोटा पुरस्कार पाँच जना र भगतसर्वजित मानवमर्यादा राष्ट्रिय पुरस्कार तीन जनालाई प्रदान गरियो ।

यसैगरी गोपालप्रसान रिमाल राष्ट्रिय पुरस्कार दुई जनालाई प्रदान गरिएको छ । इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार एक जनालाई प्रदान गरिएको छ ।

यसै वर्षदेखि सुरु भएको आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार कोषराज पौडेल, योगमाया राष्ट्रिय पुरस्कार पवन आलोक कँडेल, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार मोहन सिटौला र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार गोविन्द आचार्यलाई प्रदान गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यस्ता पुरस्कारले स्रष्टालाई सिर्जनामा प्रोत्साहन मिल्ने बताए ।

राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी, नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति भुपाल राई र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायतले स्रष्टा सम्मानलाई मन्त्रालयले प्रथमिकतामा राखेको बताउनुभएको थियो ।

सो अवसरमा भाषा तथा सहित्य, संस्कृति, लतिलकला र सङ्गीत तथा नाट्य गरी चार विधामा सातै प्रदेशका २८ जना स्रष्टासमेतलाई सम्मान गरिएको थियो ।