काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित बनेका वरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह न्याय माग्दै रिले अनशनमा बसेका छन् ।

सहकारीमा २ करोड ६० लाख रुपैयाँ फसेपछि रकम फिर्ताको माग गर्दै उनीहरु सोमबार काठमाडौंको माइतीघर मण्डलमा अनशन बसेका हुन् । उनीहरु दिउँसो १२ बजेदेखि राति १० बजेसम्मका लागि १० घण्टे रिले अनशनमा छन् ।

सहकारीमा पैसा फसेपछि आफ्नो विजोग भएको भन्दै चैत्यदेवीले दुखेसो पोखेकी छन् । उनले गहभरी हुँदै सञ्चारकर्मीसँग भनिन्, ‘सहकारीले पैसा खाएपछि हाम्रो विजोग भएको छ । गाँस-बास नै उठ्यो । जम्मा गरेको पैसा सहकारीले दिँदैन । घर चलाउन नै मुश्किल भएको छ ।’ सिंहले सहकारीमा आफ्नो ६३ लाख फसेको जानकारी दिइन् । उनले सरकारसँग न्यायको माग गरेकी छन् ।

त्यस्तै, बसुन्धरा भुषालले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर न्याय माग्दा पनि सुनुवाई नभएको गुनासो पोखिन् । तीन महिनादेखि आफू बिरामी रहेको बताउँदै उनी भन्छिन्, ‘हामी बाध्यताले अनसन बसेका हौं । हामी न्याय माग्न कहाँ मात्र गएनौं । तर, सुनुवाइ भएको छैन । सहकारीका मालिकहरुको सबै सम्पत्ति जफत गरेर पीडितहरुलाई बाँड्न सरकारसँग अनुरोध गर्छु,’ उनले भनिन् ।

सोही सहकारीमा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषको १५ लाख रुपैयाँ पनि फसेको छ । उक्त फाउण्डेसनबाट बर्सेनि डेढ लाख रुपैयाँ राशीको पुरस्कार वितरण हुँदै आएकोमा सहकारीमा रकम फसेपछि सो पुरस्कार हुन सकेको थिएन । यस वर्ष दुई वर्षको पुरस्कार एकसाथ वितरण गरिँदैछ । सिभिल सहकारीमा अभिनेत्री अञ्जु कारञ्जितको पनि लाखौं रुपैयाँ फसेको छ ।