काठमाडौं । जिम्बावेमा जारी रहेको आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा आयरल्यान्डसँग नेपाल पराजित भएको छ ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाल २ विकेटले पराजित भयो । पराजयसँगै प्रतियोगिताको सातौँ स्थान हात पार्न नेपाल असफल भएको छ । नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९ दशमलब २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
आयरल्यान्डका लागि कुर्टिस क्यामफेर र ह्यारी टेक्टरले अर्धशतकीय ईनिङ खेले । क्यामफेरले ५९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६२ रन बनाए । टेक्टरले ७६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६० रन बनाए । जर्ज डकरेलले ४७ बलमा ३३ तथा लुर्केन टुकेरले २२ बलमा २४ रन बनाए । नेपालका लागि करण केसीले ४ तथा किशोर महतोले २ विकेट लिए । गुलसन झा र सन्दीप लामिछानेले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो। नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।
आठौं विकेटका सन्दीप लामिछाने र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । ओडिआईमा नेपालका लागि आठौं नम्बरको लागि भएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि आठौं विकेटका लागि दीपेन्द्र ऐरी र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।
सन्दीपले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाए ।
आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।
जितसँगै आयरल्यान्डले विश्वकप छनोट खेलको सातौं स्थान हासिल गरेको छ । पराजित नेपालले प्रतियोगितामा आठौं स्थान हासिल गरेको छ ।
सन् २०१८ मा जिम्बाब्वेमै भएको विश्वकप छनोटको पछिल्लो संस्करणमा पनि आठौं स्थान हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।