काठमाडौं । आगामी अगस्त ४ देखि ६ तारिखसम्म भारतको हैदरावादमा हुने सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसका लागि १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदरावाद प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

महिलातर्फ फाइटको ४४ केजीमा लीलाकुमारी सापकोटा र सञ्चिता श्रेष्ठ, सविना तामाङले ४९ केजीमा, मुना राईले ५२ केजीमा, रोनिका पराजुलीले ५५ केजीमा, विनीता थापामगरले ४९ केजीमा र डोल्मा गुरुङले ८४ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ सुनील महतोले ५४ केजीमा, तेन्जिङ दावा तामाङले ४९ केजीमा, अनिल खड्काले ६३ केजीमा, रोशन घिसिङले ४९ केजीमा, निर्मल लामाले ५८ केजीमा, साहिल दोङले ४९ केजीमा र रिक्साङ वाइबा तामाङले ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । उक्त च्याम्पियनसिपमा राखेपका बोर्ड सदस्य अञ्जन धमलाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै संघकी महासचिव अञ्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, रजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले पनि अम्पायरको भूमिका निर्वाह गर्नेछन् ।