काठमाडौं । तिब्बतको सिसापाङ हिमालमा शनिबार गएको हिमपहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । थप दुईजना अझै हराइरहेका छन् ।
सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले शनिबार दिउँसो सिसापाङ हिमालको सात हजार ९ र सात हजार सात मिटरमा दुईवटा हिमपहिरो गएको जानकारी दिए । हिमपहिरोमा परेर अमेरिकी महिला आरोही अन्ना गुटु र उनका गाइड मिङ्मार शेर्पाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकी आरोही जिना मारिया र उनका गाइड तेन्जेन लामा शेर्पा भने बेपत्ता भएका छन् । तेन्जेनले केही समयअघि मात्रै नर्वेकी क्रिस्टिन हरिलासँगै ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए ।
त्यस्तै, कामिरिता शेर्पा र कर्मा ग्याल्जेन शेर्पा घाइते भएका छन् । उनीहरुलाई अन्य आरोहीले उद्धार गरेर बेसक्याम्पतिर ल्याइरहेको गुरागाईंले जानकारी दिए ।
घाइतेको उद्धार र हराएकाहरुको खोजी गर्न काठमाडौंबाट हेलिकोप्टर पठाउनुपर्ने भए पनि अहिलेसम्म जान सकेको छैन । सिसापाङ हिलमा नेपालको सीमाबाट दुई दिनको दूरीमा तिब्बतमा रहेको हुँदा चिनियाँ दूतावासको अनुमति लिनुपर्छ । तर आइतबार दूतावास बन्द भएका कारण अनुमति पाउन नसकेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
आठ हजार मिटर अग्लो सिसापाङमा हिमाल विश्वको चौधौं अग्लो हिमाल हो । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार हिमपहिरो जाँदा अमेरिका, बेलायत, रोमानिया, अल्बानिया, इटाली, जापान र पाकिस्तानका गरी ५२ आरोही आरोहण यात्रामा थिए । खराब मौसमका कारण केही अगाडि नै आरोहण त्याग गरेका दुई पाकिस्तानी भने पहिरोबाट जोगिएका थिए ।