तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनुहँको म्याग्दे गाउँपालिका-६ मौरीबाजार र तुरतुरे बजारको बीचमा बुधबार बेलुका सुख्खा पहिरो खस्दा म्याग्दे-पोखरा सडकखण्ड अवरुद्ध भएको छ ।

सडकबाट करिब १५० मिटर माथिबाट सुख्खा पहिरो खस्दा उक्त सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

उक्त पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री समेतको विपद् व्यवस्थापन प्रहरी टोली, इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली, राजमार्ग विस्तारको काम गर्दै आएको चाईनिज कन्स्ट्रक्सन, स्थानीय पालिका तथा स्थानीयहरू समेतको सहकार्यमा काम भइरहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि तनहुँ हुँदै कास्कीको पोखरा तर्फजाने साना तथा मझौला सवारी साधनहरुको लागि वैकल्पिक बाटो दमौलीको भोर्लेटार चोक–कलेस्ती–दुईपिप्ले–पोल्याङ हुँदै कास्कीतर्फ डाइभर्सन गरिएको उनले बताए ।