काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ । उच्चस्तरीय समिति गठन नभएस्म संसद चल्न नदिने अडानमा रहेको एमालेका सांसदहरुले वेल घेराउ गरे ।

बैठकको विशेष समयमा अन्य दलका सांसदलाई आफ्नो धारणा राख्न दिन आफूहरुले सदाशयता देखाएको एमालेले संसदको शून्य समयको प्रक्रिया भने अगाडि बढ्न दिएन ।

‘पछिल्लो २-३ महिनाको अवधिमा २२ क्विन्टलभन्दा बढी सुन गृहमन्त्री, अर्थमन्त्रीको संरक्षण र सेटिङमा भित्रिएको छ । यो सामान्य विषय होइन,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘पछिल्लो समयमा भेटिएको सुन सेटिङ बिग्रँदा पक्राउ परेको हो । ‘

उनले ३३ पटक सुन भन्सार हुँदै भित्र्याइएको बताए । ‘मन्त्रीदेखि को-को संलग्न छन् त्यसमा छानबिन हुनुपर्छ,’ उनले भने ।

सुन काण्डमा छानबिन हुनु पर्ने माग गर्दै संसद अगाडि बढ्न नदिने गिरीको भनाइलगत्तै एमालेका संसदहरुले नाराबाजी गर्दै वेल घेरेका थिए । सांसदहरुले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले यही साउन १५ गते (सोमबार) दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए ।