काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पक्राउ गरेको हो ।
नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको जानकारी दिए ।
तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।
इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।
२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको थियो ।
अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारेको थियो । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिएको थियो ।