काठमाडौं । विमानस्थलबाट सुन तस्करी भएको घटनामा थप तीन जना कार्गो कम्पनी सञ्चालक पक्राउ परेका छन् ।
जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार आज साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् । त्यसमध्ये छ जनालाई आजै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।
बिहीबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने भोलि (शुक्रबार) म्याद थप गरिने जनाइएको छ । आज दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले मंगलबार राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । यो घटना भने बुधबार राति मात्रै सार्वजनिक भएको थियो ।