काठमाडौं । सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिइएको छ ।
उक्त प्रकरणको थप अनुसन्धान गर्ने गरी आज सीआईबीलाई फाइल पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार अब बाँकी सबै अनुसन्धानका काम सीआईबीले गर्नेछ ।
यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्याएर आइतबार फाइल पठाइएको हो । उक्त प्रकरणमा अब सीआईबीले आर्थिकलगायत सङ्गठित र अन्तरदेशीय अपराधका सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट पत्र प्राप्त भएपछि सीआईबीले अनुसन्धान थाल्ने जानकारी दिए । विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो ।
उक्त घटनामा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आज १८ दिनपछि अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको हो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् ।
विभागका महानिर्देशक ढुङ्गानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताए ।