बाँके । कर्णाली प्रदेशका उच्च पहाडी जिल्ला जाजरकोट, रुकुमपश्चिम र सल्यानमा गएको भूकम्पबाट गाँसबासविहीन भएकाहरूलाई तत्काल चाहिने खाद्यान्नसहितको राहत सामग्री ढुवानीमा ढिलाइ भएको छ ।

नेपालगन्जमा संकलन भएको राहत सामग्री हवाई मार्गबाट ढुवानी गर्ने व्यवस्था नगर्दा अझैसम्म पनि सयौँ पीडित भोकभोकै खुला आकाशमुनि बस्न बाध्य भएका छन् । सैनिक जहाज र हेलिकप्टर ढुवानी गर्न सकिने सम्भावना हुँदाहुँदै पनि सरकारले ढिलो माध्यमको प्रयोग गरेकाले कयौँ भूकम्प पीडितहरू अझै पनि संकटमा छन् ।

जाजरकोट, रुकुमपश्चिम र सल्यानसहितका जिल्लामा भूकम्प गएर धनजनको ठूलो क्षति भएपछि नेपालगन्ज विमानस्थलबाट सैनिक हेलिकप्टर प्रभावित क्षेत्रमा बारम्बार उडान भर्दै आएका छन् । हेलिकप्टरले राहत बोकेर होइन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र दलका नेताहरू लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् ।

नेपालगन्जमा भूकम्पपीडितका लागि संकलन भएको राहत सामग्री स्थल मार्गबाट पठाइँदै आएको छ । यहाँसम्मकी इन्डियन एयरफोर्सको जहाजले नेपालगन्ज ल्याएर छाडेको दुईखेप राहत सामग्रीसमेत नेपालगन्ज विमानस्थलबाट ट्रकबाट ढिलो गरी पठाइयो । नेपाली सेनाले आफ्नो जहाज र हेलिकप्टरबाट राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउन सक्थ्यो । तर ट्रकबाट ढुवानी गर्दा पीडितसम्म पुग्न ढिलाइ भयो ।

छिटो ढुवानी गर्न सम्भावना देखिएको हवाई मार्गको साटो सतह मार्गबाट ढिलो गरी राहत सामग्री पठाउन थालेपछि अधिकांश भूकम्प प्रभावितहरू खुला आकाश मुनी रात काट्न बाध्य भएका हुन् । सरकारले आफूसँग भएका ढुवानीका हवाई साधनको परिचालनसमेत नगरेपछि उत्पन्न संकटका कारण खाद्यान्न, ओढ्ने ओछ्याउने न्यानो कपडा र त्रिपालसहितका आधारभूत बस्तु किन्न र खोज्न प्रभावित क्षेत्रका बासिन्दा आफै नेपालगन्ज आउन थालेका छन् ।

हवाई मार्गबाट ढुवानी व्यवस्था नभएपछि ट्रक चालक बुधबार नेपालगन्जको न्यूरोडबाट राहत सामग्री लिएर रुकुम पश्चिम तिर गएका छन् । ठूलो संकटमा परेका भूकम्प पीडितलाई आवश्यकता अनुरूप निष्पक्ष ढंगले राहत पुर्‍याउनु पर्ने बेलामा पक्षपात र विभेद सहनुपरको पीडितको गुनासो छ ।

भएका सरकारी हेलिकप्टर र जहाजले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बोक्न थालेपछि विकट क्षेत्रमा राहत पुर्‍याउन भएको ढिलाइले पीडितहरू थप मर्माहत भएका छन् ।