काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर आसिफ शेखले ४२ रन बनाएको इनिङ्समा कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । गुल्सन झा १४ रनमा नकआउट रहदाँ कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन बनाएका थिए । हङकङका इसान खानले ३ तथा यासिम मुर्ताजाले १ विकेट हात पारे ।

सुरुआती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो । मुलपानीमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहित पौडेलको निर्णयलाई सहि सावित गर्दै तिव्र गतिका बलर करन केसीले ४ विकेट लिएपछि हङकङको ब्याटिङ लाइन धरासायी बनेको थियो ।

हङकङले नेपालको तिव्र गतिको बललाई खेल्नै सकेनन् । स्पिनरलाई समेत उनीहरुले झेल्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट लिएपछि हङकङ ९४ रनमा समेटिएको हो ।

हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । जिसान अलीले १७ रन बनाए । अन्यले दोहोरो अंक समेत छुन सकेनन् ।

नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले सिरिजको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।