काठमाडौं । नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् ।

बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । पशुपति क्षेत्रमै आउने भक्तजन भने अझै बढी थिए । आएका धेरै भक्तजनले भने लाम बस्नुपर्ने भएकाले मूल मन्दिरभित्र प्रवेश नगरी परिसरबाटै गजुरको दर्शन गरेर फर्किएका छन् ।

बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनले बताए । भाद्र शुक्ल तृतीयका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन् ।

पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । पशुपतिनाथ मन्दिरमा यस वर्ष विगतभन्दा सहजरूपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका छन् । १५ वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वरलगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको थियो । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

आइतबार राति दर खाएपछि औपचारिकरूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष चौथी र पञ्चमी एकैदिन परेकाले दुवै पर्व मङ्गलबार नै मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपाली नारीले यो पर्व विशेषरूपमा मनाउने गरेका छन् । सञ्चारमाध्यमको प्रचारप्रसारका कारण हाल यो पर्व भारतमा पनि मनाउन सुरु गरिएको कोषले जनाएको छ ।