काठमाडौं, ७ असार । हालै आएको बाढीपहिरोबाट मुलुकका विभिन्न भूभागमा १३ जनाको मृत्यु भएको छ भने २६ बेपत्ता रहेका छन् ।

सिंहदरबारमा बसेको संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षतिबारे जानकारी दिएका हुन् । बाढीपहिरोमा परी आठ जना घाइते भएका छन् । क्षतिको अन्य तथ्याङ्क आउन बाँकी रहेको उनले जानकारी दिए ।

उनले बाढीपहिरो, प्राकृतिक विपत्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा जानकारी दिँदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको पनि स्पष्ट पारे । अघिल्लो आर्थिक वर्ष करिब रु एक अर्ब १५ करोड बराबरको क्षतिपूर्ति तथा राहत सहयोग प्रदान गरिएको उनले बैठकमा जानकारी दिए ।