काठमाडौं । ६० किलो सुन प्रकरणमा माओवादी लिगेसी बोकेका तीन नेताको छोराहरूको संलग्नताको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
माओवादी केन्द्रका पूर्वसैन्य डेपुटी कमाण्डर एवम् पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा र नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा व्यावसायिक साझेदारसमेत थिए।
बादलका छोरा प्रतीक नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार छन्।
राहुल माओवादीको युवा संगठन वाइसीएलका उपमहासचिव हुन् भने दीपेश विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन्।
बादलपुत्र प्रतीक अहिले मुलुकबाहिर रहेको प्रहरी उच्च स्रोतको भनाइ छ। महराका छोरा राहुललाई गत बुधबार प्रहरीले उनकै निवास खुमलटारबाट प्रकाउ गरेको थियो। पक्राउ परिसकेपछि उनले सीआईबीलाई सघाउनका लागि आफैं उपस्थित हुन लागेको स्ट्याटस फेसबुकमा लेखेका थिए।
भेपमा लुकाएर ल्याएको सुन प्रकरणमा उनलाई पक्राउ गरिएको भनिए पनि राहुलको संलग्नता ६० किलो सुन प्रकरणमा समेत देखिएको सीआईबी स्रोतको भनाइ छ।
चिनियाँ समूहले भेपमा लुकाएर भित्र्याएको ९ किलो सुनबारे बुझ्न राहुलले पटक-पटक विमानस्थलस्थित भन्सार प्रमुखसँग सम्पर्क गरेका थिए। पूर्वसभामुख महराले समेत उक्त भेपको लिलामी प्रक्रिया बुझ्न भन्सार प्रमुखसँग कुराकानी गरेका थिए।
सीआईबीको अनुसन्धानबाट महरा बाबु-छोराको सम्पर्क सुन भित्र्याउने गिरोहसँग भएको देखिएको थियो। सीआईबीले अनुसन्धान प्रतिवेदनमा लिंक चार्ट बनाएर महरा बाबु-छोराको संलग्नताबारे उल्लेख गरेको थियो।
भेपको ९ किलो सुन प्रकरणमा विमानस्थलको भन्सारबाट सुन चोरी गर्नहरू पक्राउ परे पनि भित्र्याउने समूह भने पक्राउ परेको छैन।
यस्तै नक्कली शरणार्थी प्रकरणमा फरार रहेका प्रतीकको ६० किलो सुन भित्र्याउने समूहसँग निकट रहेको र यसअघि पनि यी तीन नेतापुत्रहरूले गिरोहसँग मिलेर सुन भित्र्याएको तथ्य सीआईबीले फेला पारेको छ।
पक्राउ परेका राहुललाई सीआईबीले अनुसन्धान गरिरहेको छ भने पुनले सोमबार सीआईबीमा गएर तीन घन्टा बयान दिएका छन्। बयानका क्रममा उनले सुन प्रकरणमा आफ्नो संलग्नता इन्कार गरेका छन्।