काठमाडौं । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

उमेर नपुगेकी किशोरीलाई क्लबमा प्रवेश गराएको आरोपमा उनी पक्राउ परेका हुन् । एलओडीमा गएकी एक १५ वर्षकी किशोरी बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।

ती किशोरीलाई मादक पदार्थ सेवन गराइ ललितपुर लगेर बलात्कार गरेको आरोपमा अर्का एक जना पक्राउ परेका छन् ।

उमेर नपुगेकी किशोरी क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।

एलओडीमा लागुऔषध पार्टी गराउने तथा कम उमेरका किशोरी दुरुपयोगको शंका धेरै पटक गरिएको थियो । यस क्लबमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ तर केटीलाई नि:शुल्क प्रवेश दिने गरिएको आरोप छ । क्लबका अर्का सञ्चालक रुदिप श्रेष्ठ भने फरार छन् ।