काठमाडौं । अनलाइन बेटिङ कम्पनीको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) सहितका कलाकारहरुविरुद्ध मुद्दा दर्ता भएको छ ।

सोमबार उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, एलिस राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

उनीहरुविरुद्ध ‘वान एक्स बेट’ नामको सट्टेबाजीसँग सम्बन्धित वेबसाइटको प्रचार गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।

त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।