काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको छ ।
माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सीताको बुधबार बिहान ८ : ३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । अपराह्न २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको थियो । विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।
मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्याइएकी थिइन् । पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन् ।
जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनी पार्किन्सनलगायत जटिल रोगबाट पीडित थिइन्।
प्रधानमन्त्री दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय छन् ।