काठमाडौं । अभिनेता सरोज खनालद्वारा निर्देशित पहिलो फिल्म ‘बगान’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।

फिल्मको ओपनिङ आक्रामक नभए पनि निराशाजनक भने छैन । पहिलो दिन फिल्मले दर्शकको सुखद साथ पायो । विशेषगरी परिवारिक दर्शक फिल्म हेर्न हल पुगेका छन् । निर्माण टिमले एकल महिलालाई निःशुल्क फिल्म हेर्ने व्यवस्था मिलाएको छ । हलमा एकल महिलाहरु आफ्ना सन्तानसहित पुगेका छन् ।

शुक्रबार दर्शक प्रतिक्रिया बुझ्न निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र अभिनेत्री प्रमिला कार्कीले राजधानीका विभिन्न हल चहारेका थिए । फिल्म हेर्दा भावविह्वल भएका दर्शकले सामुन्नेमा पर्दाका कलाकार देख्दा आफूलाई सम्हाल्न सकेका थिएनन् । केही एकल महिलाहरुले करिश्मालाई अंगालो हालेर रोएको दृश्य मर्मस्पर्शी देखिन्थो । करिश्माले भने ढाडस दिइरहेकी थिइन् ।

एकल आमाहरूले आफ्नै कथामा फिल्म बनाएकोमा सरोज खनाललाई धन्यवाद व्यक्त गरे । फिल्म हेरेर भावविह्वल भएका पुरुष दर्शकले पनि समाज रुपान्तरणका लागि फिल्मले ठूलो भूमिका खेल्ने प्रतिक्रिया जनाए । फिल्म हेर्न हल पुगेका एकल आमाहरुको भनाइ सुन्दा आफूहरुले देखाउन खोजेको कुरामा केही हदसम्म सफल भएको भन्दै निर्देशक खनालले खुसी व्यक्त गरेका छन् ।

‘बगान’मा आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवले लेखेको पुस्तकको एउटा कथामा आधारित भएर बनेको फिल्मको निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्मातामा विनोद मानन्धर रहेका छन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन तथा सन्देश शाहको सम्पादन रहेको छ ।